बेंसीशहरमा फड्के

नेपाल समाचारपत्र
लमजुङ
परिवारको खुसीका लागि गाउँले जीवनमा गरिने मर्मस्पर्सी घटनाक्रम तथा भावना समेटेर तयार पारिएको नाटक फड्के जिल्ला सदरमुकाम बेंसीशहरमा मञ्चन गरिएको छ।

लमजुङमा नवस्थापित एकमात्र मञ्जरी नाट्य समूहद्वारा मञ्चन गरिएको नाटक हेर्न हल दर्शकले खचाखच भरिएको थियो। गाउँले जीवनको परिवेशलाई आँशु र हाँसोको संगम बनाएर नाटकलाई उत्कृष्ट बनाउने प्रयास गरिएको छ। वियोगान्तक कथामा आधारित भए पनि नाटकको अन्तराहरूमा हासोलाई पनि प्राथमिकतामा राखिएको नाटकका लेखक तथा निर्देशक पुरु रिसालले जानकारी गराए।

‘उसले पाएको छोरीको अनुहार उसकै अनुहारसँग नमिलेर गाउँलेको अनुहारसँग मिल्छ त? बूढो भएपछि ज्यान कक्रक्क नभए अरू के हुन्छ त ? जस्ता ठेट गाउँले शैलीका बोली र हस्यौली कथनको भूमिकामा बुद्धी (भरत राना), लप्तन्नी (नरमाया तामाङ) लगायत कलाकारको प्रस्तुति सजीव देखिएको थियो। गाउँले परिवेशमा छोराको आश गर्दै छोरीहरूको थुप्रो लगाउने भूमिकामा गर्भवती निर्मली (शान्ति श्रेष्ठ) र धनेको भूमिकामा (मञ्जरी समूहका अध्यक्ष केदार बोहरा) थिए। कार्यक्रममा गाउँको लाहुरे परिवेशमा प्रचलित मनोरञ्जक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो।

नाटकमा कलाकारहरू लप्टन (तीर्थ गुरुङ), लप्टन्नी (नरमाया गुरुङ), लाहुरे (हिमाल मजाकोटी), धने (केदार बोहरा), निर्मली (शान्ति श्रेष्ठ), बुद्धी (भरत राना), लोकेन्द्र (संजोग लामिछाने), भैरे (भुवनसिङ परियार), रत्ने (गोपाल परियार), रिना (सदिक्षा कुँवर), अध्यक्ष (रमिला अर्याल), गंगा (गंगा नेपाली), गोमा (गोमा अर्याल), मास्टर (आशिष परियार), दुर्गा (रितु भट्टराई), सोल्टिनी (निर्मला परियार) लगायतले अभिनय गरेका थिए। त्यसै गरी मनोरञ्जनको पाटोमा नाटकको भूमिकामा दिलीप राना, राधिका अधिकारी, सरिता गैरे, लीला गुरुङ, राजेन्द्र मिजार, पारु गुरुङ, दुर्गा राउत, सुवास क्षितिज, मिलन परियार, विमला मिजार, तेजेन्द्र गुरुङ, सुदिप गुरुङ, सुस्मिता श्रेष्ठ, रस्मिता गुरुङ, सानु गुरुङ, सविना गुरुङ, बिस्सु रानामगर, कुशुमराज गुरुङलगायतका कलाकार प्रस्तुत भएका थिए।

बेंसीशहरमा फड्के

Leave a comment

Your email address will not be published. Required fields are marked *