काठमाडौँ, भदौ १३ गते । नेपाली साहित्यका युगपुरुष गुरुप्रसाद मैनालीको कालजयी कथा ‘कर्तव्य’ मा आधारित नाटकको मञ्चन सुरु भएको छ । बर्सौंदेखि नेपाली साहित्यमा आफ्नो सान्दर्भिकता कायम राखेको यो कथालाई रङ्गकर्मी पुष्पराज अवस्थीको निर्देशन र पुरु लम्सालको नाट्य रूपान्तरणले नयाँ स्वादसहित सुदूरपश्चिमको परिवेशमा ढालिएको छ ।
पहाडी ग्रामीण जीवनको यथार्थलाई चित्रण गर्दै लेखिएको कथामा बाबुको देहवसानपछि दुई दाजुभाइबिचको भावनात्मक उतारचढाव प्रस्तुत गरिएको छ । नाटकमा दुई दाजुभाइ, गङ्गाधर र मुरलीधरको पारिवारिक मनमुटाव र सम्पत्ति विवादको चित्रण गरिएको छ । नाटकमा कथाका पात्र र परिवेशलाई डोटी पु¥याएर त्यहाँको जीवनशैली, रहनसहन, चाडपर्व र बोलीचालीलाई नाटकमा समावेश गरिएको छ । गौरा गीत गाउने महिला र नेपथ्यमा बज्ने सुदूरका सङ्गीतले नाटकलाई थप जीवन्त बनाएको छ ।
कक्षा १० को नेपाली पाठ्यपुस्तकमा समेत समावेश भएको प्रसिद्ध कथालाई नाटकका रूपमा हेर्न दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । कथालाई नाट्य रूपान्तरण गर्नुभएका लम्सालले भन्नुभयो, “मैनालीका कथामा पाइने यथार्थवादी धरातल र सीमान्त पात्रको चरित्रले नाट्य रूपान्तरण गर्न सहज भयो । कथामा पात्रको आन्तरिक द्वन्द्वलाई मञ्चमा उतार्नु चुनौतीपूर्ण थियो तर हामीले संवाद र अभिनयमार्फत त्यो गहिराइलाई प्रस्तुत गर्ने प्रयास गरेका छौँ ।” मैनालीका कथाको सूक्ष्मता र गहिराइलाई न्याय दिनु नै आफ्नो मुख्य ध्येय रहेको उहाँको भनाइ थियो ।
निर्देशक अवस्थीले भन्नुभयो, “यो नाटक बनाउनु मेरा लागि एउटा ठुलो अवसर हो । गुरुप्रसाद मैनालीको कथामा रहेको मानवीय भावना र कर्तव्यको द्वन्द्वलाई नाटकमा मार्मिक रूपमा देखाउने प्रयास गरेका छौँ । मैले नाटकलाई सुदूरपश्चिमको भूगोलसँग पनि जोड्ने प्रयास गरेको छु ।” उहाँले नाटक हेरेपछि दर्शकले आफ्नो परिवार र समाजप्रति थप जिम्मेवार महसुस गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नाटकमा रुविन सुनार, प्रदीप विश्वकर्मा, अन्जना दुलाल, उज्वल साइपोम राई, तृप्ती श्रेष्ठ, प्रशान्त हुमागाईं, सविता तामाङ, सन्तोष ढकाल, अर्जुन हाङ राई, तुलसी राई, मुकेश विश्वकर्मा, अनिश बोगटी, उत्सव कार्की, धिरेन कार्की, रश्मी गुरुङ कलाकारको अभिनय देख्न पाइनेछ ।
भुवन दाहाल र जनक ताम्राकारको गीत/सङ्गीत रहेको यस नाटकको कोरियोग्राफी श्याम कार्कीले गर्नुभएको छ । आदि इत्यादि र मोनस्टर फिल्म एन्ड ओजस थिएटर (शैली थिएटर) को संयुक्त प्रस्तुति रहेको यो नाटक भदौ ११ देखि २९ गतेसम्म काठमाडौँको रातो पुलमा रहेको मोनस्टर फिल्म एन्ड ओजस थिएटर (शैली थिएटर) मा नियमित मञ्चन हुने छ ।
