नाचघरमा नाम्गेलको गाउँ

नाटक मञ्चनमा कमी आइरहेको समयमा राजधानीमा नाम्गेलको गाउँ नामक नाटक देखाइएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नाटक विभागको आयोजना तथा सांस्कृतिक संस्थानको सहकार्यमा बुधबार साँस्कृतिक नाटक नाम्गेलको गाउँ देखाइएको हो।

नाटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा जमलस्थित राष्ट्रिय नाचघरमा मञ्चन गरिएको हो। दुुई समुदायको उत्पीडनको कथा बोलेको नाम्गेलको गाउँले शासक वर्गले ती समुदायमा गरेको अन्याय र अत्याचार उजागर गर्ने प्रयास गरेको छ।

प्राज्ञ विष्णु मोक्तानद्वारा लिखित नाटकलाई प्राज्ञ पुरु लम्सालले नाट्य रुपान्तरण गरेका हुन्। नाटक सुशीलसिंह ठकुरीले निर्देशन गरेका थिए। नाटकमा सगुन तामाङ, रामभजन कामत, सुशीला थापा, सानुमाया तामाङ, सन्तोष तामाङ बान्बो, उमाकान्त सापकोटा, अन्जु खड्का, रिजेश तामाङ, निशान चौलागाईं, निर्जला लम्साल, सविता तामाङलगायत कलाकारले अभिनय गरेका थिए। नाटककाे संयाेजन आदिइत्यादिले गरेकाे थियाे ।

नाटक मञ्चनपश्चात् कुलपति निशा शर्माले नाटकमा अभिनय गर्ने कलाकारको प्रशंसा गर्दै नाटकमा दर्शाउन खोजेको पहिचानको लडाईं अझै जारी रहेको चर्चा गरिन्। नाम्गेलको गाउँलाई एक दिनको प्रदर्शनमा सिमित नगरी लामो समय मञ्चन गर्नुपर्ने उनले बताइन्।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नाटक विभाग प्रमुख प्राज्ञ हिसनबहादुर मगरको संयोजनमा मञ्तित नाटकमा संलग्न कलाकार, निर्देशक तथा प्राविधिकलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

नाचघरमा नाम्गेलको गाउँ « News of Nepal