रंगमञ्चमा घुम्यो ‘पानीघट्ट’

काठमाडौंकै थिएटरको झल्को दिनेगरी लमजुङको सभागृहमा मञ्चन भएको नाटक ‘पानीघट्ट’ ले दर्शकको मन जितेको छ। नेपाली ग्रामीण समाजको चित्रण गरिएको नाटकले यहाँका विविध पाटा उजागर गरेको छ। ‘हाम्रो समाजको पुरानो संस्कृति, संस्कार र अहिलेको समाजको वास्तविक रूप नाटकमा भेट्टायौं’, दर्शकको प्रतिक्रिया थियो।

‘लमजुङको आधुनिक समाजमा पुरानो संस्कृति र अहिलेको वास्तविकता देखाउन चानचुने थिएन’, नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले भने, ‘आधुनिक समाजमा घुलमिल भएका नयाँ पिँढीलाई पुर्खाले भोगेको जीवन र अहिलेको समाजको यथार्थ चित्रण गर्ने प्रयास नाटकमा गरिएको छ।’

सुरुमा हँसाउँदै कथावस्तु अघि बढाइएको पानीघट्टले अन्तिममा दर्शकलाई रुवायो। गाउँको सानो भट्टीबाट सुरु भएको नाटकमा उत्तरार्धमा गाउँमा रहेको पानीघट्ट, त्यससँग आश्रित परिवार र वैदेशिक रोजगारले रित्तिएको गाउँको कथा उतारिएको थियो।

गत वर्ष मञ्चित ‘फड्के’ ले राम्रो सफलता पाएपछि मञ्जरी नाट्य समूह लमजुङले यस वर्ष ‘पानीघट्ट’ प्रदर्शन गरेको हो। ‘यहाँका सामाजिक, सांस्कृतिक विषयवस्तु टिपेर पानीघट्ट बनाएका हौं’, निर्देशक लम्सालले भने, ‘पानीघट्टमा पुरानो संस्कृति, रेमिटान्सले धानेको गाउँको व्यथा र पुस्तान्तरणमा देखिएको अन्तर प्रस्तुत गरेका छौं।’

विगतमा पानीघट्टले चलेको जीवन नाटकमा देखाइएको छ। यसमा रेमिटान्सले पारेको प्रभावका साथै सांस्कृतिक क्षेत्रमा आएको बदलाव पनि प्रस्तुत गरिएको छ।’ नाटकमा पश्चिमाञ्चलको बहुचर्चित ठाडोभाका पनि समेटिएको छ। गायक दीर्घराज अधिकारी (भेडीखर्के साइँला) को निधनपछि संकटमा परेको ठाडोभाका जोगाउन नाटकले सन्देश दिएको छ।

नाटककार लम्सालले २०६४ सालमा लेखेको कथा रंगमञ्चमा प्रस्तुत गरिएको मञ्जरी नाट्य समूहका अध्यक्ष केदार बोहोराले बताए। अहिले काठमाडौंमा नाटक हेर्ने संस्कृतिको विकास हुँदै गए पनि मोफसलमा भने रंगमञ्च जम्न सकेका छैनन्। सीमित रूपमा सडक र स्टेज नाटक प्रस्तुत गरिने गरिएको छ। तर, मञ्जरी समूहले काठमाडौंको रगंमञ्चकै शैलीमा गत वर्ष फड्के नाटक प्रस्तुत गरेको थियो।

‘नाटकको विषयवस्तु र कलाकारले गरेको अभिनयले निकै हर्षित तुल्यायो’, प्रदेश नं. ४ का सांसद धनञ्जय दवाडीले भने, ‘अब जिल्लामा नाटक जम्न सक्छ, नाटकघर बनाउन पहल गर्नेछु।’ पूर्वसभासद् जमिन्द्रमान घलेले पनि नाटक उत्कृष्ट रहेको प्रतिक्रिया दिए।

नाटकमा १६ जना कलाकारले अभिनय गरेका छन्। करिब सवा घन्टाको नाटकमा १३ वर्षीय विप्लव बोहरादेखि ७२ वर्षीय विष्णुभक्त अधिकारीसम्मले अभिनय गरेका छन्। टीकाराम घिमिरे, नरमाया तामाङ, हिमाल मजाकोटी, शान्ति श्रेष्ठ, केदार बोहोरा, निर्मला परियार, रमिला अर्याल, तीर्थ गुरुङ, आशिष परियार, भरत राना, सुवास क्षितिज, सुकबहादुर मिजार, लक्ष्मी श्रेष्ठ, सुनील बसौला, विमला मिजार, सञ्जोग लामिछानेलगायतको अभिनय तारिफयोग्य छ।

फेब्रुअरी २३–२५ (फागुन ११–१३) मा कोलकत्तामा हुने चौथो शम्भु मित्र एन्ड बिजन भट्टचर्जी स्मृति नाट्य उत्सवमा छनोटमा परेको यो नाटक लमजुङमा माघ १८ देखि २० गतेसम्म प्रदर्शन भएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *