‘सङ्कल्प’ मञ्चन

नुवाकोट । पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक ‘सङ्कल्प’ मञ्चन गरिएको छ । जेठ ७ गतेबाट १० गतेसम्म उक्त गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा नाटक मञ्चन गरिएको थियो । गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षाक्षेत्रका चार खम्बाहरु भएको बताए । उनले भने, ‘यी चारवटामध्ये एउटा खम्बामात्रै कमजोर भयो भने पनि हामीले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैनौँ ।’ उनले हामी शिक्षाको गुणस्तर बढाउन प्रतिबद्ध रहेको जनाउँदै विभिन्न जनतेचनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको जनाए । अध्यक्ष तामाङले भने, ‘विद्यार्थीले राम्रो पढ्न प¥यो । शिक्षकले राम्रो पढाउन पर्यो । अभिभावकले पनि आफ्ना छोराछोरीको पढाई, आचरणलगायतका विषयमा बुझ्न नियमित विद्यालयमा जानु पर्दछ । विद्यालयको भौतिक संरचनामा पनि हामीले ध्यान दिन जरुरी छ ।’ उनले नाटकको प्रभाव राम्रो भएको भन्दै कलाकारको तारिफसमेत गरे र आगामी दिनमा पनि आदिइत्यादिसँग सहकार्य गरेर अन्य कार्यक्रम बनाउने प्रतिबद्धता जनाए । नाटकका बारेमा आफ्ना धारण राख्दै उपाध्यक्ष विमला केसीले शिक्षाका क्षेत्रमा रहेका धेरै विकृति पन्छाउन पर्ने कुरामा जोड दिइन् । उनले भनिन्, ‘हामी हाम्रा छोराछोरीलाई निजी स्कुलमा भर्ना गर्दैमा पढाइ राम्रो हुन्छ भन्ने मान्यता राख्छौँ त्यो गलत हो । मिहिनेत गर्ने हो भने सामुदायिक विद्यालयले पनि उत्कृष्ट नतिजा दिन सक्छन् भन्ने सन्देश पनि नाटकले दिएको छ ।’ पञ्चकन्या गाउँपालिकाको प्रमुख कार्यकारी अधिकृत राममणि काफ्लेले समग्रमा नाटक मञ्चनको प्रतिक्रिया एकदम राम्रो आएको जानकारी आफूले पाएको बताए । उनले भने, ‘नाटक विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थीका लागि उपलब्धिमूलक रहेको छ ।’ नाटक हेर्न अभिभावकको बाक्लो उपस्थिति रहेको थियो भने विभिन्न वडाध्यक्षको पनि उपस्थिति रहेको थियो । नवसञ्जीवनी मावि आँप्रहमा नाटक हरेर आफ्नो प्रतिक्रिया दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद मिश्रले नाटकले हाम्रो समाजको अहिलेको एउटा तस्बिर देखाएको बताए । उनले भने, ‘हामीले सुधार गर्नुपर्ने कुरा धेरै छन् । कमजोरीलाई सुधारेर अगाडि बढ्ने हो भने हामीले उपलब्धि हासिल गर्न पनि सक्छौँ । गाउँपालिकाले गरेको यो सुरुवातमा हामी सबैले सहयोग गर्न आवश्यक रहेको छ ।’ पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक सङ्कल्प प्रदर्शनको समन्वय पञ्चकन्या गाउँपालिकाका शिक्षा शाखाका साहायक निरञ्जन तिवारीले गरेका थिए । नाटकमा सुशीलसिंह ठकुरी, अनामिका लामिछाने, दीपमाला परियार, शान्ति भट्टराई, रविन दोङ्, गंगा मगर र प्रज्ज्वल अधिकारीको अभिनय रहेको थियो । ‘सङ्कल्प’ मञ्चन | SouryaOnline